काठमाडौं । उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको बजेटको लागि कर, राजश्व तथा भन्सार नीतिसंग सुझाव पेश गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. राम प्रसाद घिमिरेलाई भेटी सुझाव गरेका हुन्।
अध्यक्ष प्याकुरेलले निर्यात प्रवर्धनका लागि प्रकृयागत जटिलता सरलिकरण, स्वदेशी कच्चा पदार्थ प्रयोग गरी ५० प्रतिशत सम्म मूल्य अभिवृद्धि गर्ने उद्योगले भारत निर्यातमा नगद प्रोत्साहन, निकासीजन्य उद्योगले प्राप्त गर्ने बैङ्क ग्यारेन्टी, नगद धरौटी, पासबुक सुविधाहरू उपयोग गर्न प्रक्रियागत सरलीकरण, कच्चा पदार्थ पैठारी गर्दा तिरेको महसुल निकासी गरेको परिमाणका आधारमा फ्ल्याट दरमा फिर्ता, कच्चा पदार्थमा लाग्ने महसुल तयारी वस्तुमा लाग्ने भन्दा २ तह कम, निकासीजन्य उद्योगलाई कच्चा पदार्थको पैठारीमा सुविधा दिन, सामुद्रिक वन्दरगाहमा अवस्थित भन्सार र सीमावर्ती भन्सारको जाँचपास प्रक्रियालाई स्वचालित गर्न, व्यवसायीहरूले एक निकायमा पेश गरेको विवरण स्वतः अर्को निकायमा जाने प्रणालीको विकास र कार्यान्वयन गर्नुपर्ने सुझाव दिए भने तेस्रोे मुलुकबाट निकासी र पैठारी गर्दा सिङ्गापुर र कोलम्बो बन्दरगाहले प्रदान गरेको ट्रान्ससिपमेन्ट सुविधा भारतीय बन्दरगाहरूमा अवस्थित भन्सार र सीमावर्ती भन्सारबाट समेत प्रदान गरी सहज पारवहन सुविधाको सुनिश्चितता गर्न अनुरोध गरे ।
आयात प्रतिष्थापन, स्वदेशी वस्तु प्रवर्धन एवं मूल्य/आपूर्ति औद्योगिक श्रृङ्खला विकासका सन्दर्भमा न्युनबिजकिकरण भई आयात हुने वस्तु पूर्णरुपमा बन्द गर्न, कुनैपनि वस्तु उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादनमा प्रयोग हुने प्याकेजिङ वस्तु अर्को उद्योगबाट खरिदगर्दा समेत अन्तःशुल्क नलाग्ने, स्वदेशमा आत्मनिर्भर हुनसक्ने वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागी सेफगाडर्, एण्टीडम्पिङ र काउन्टरभेलिङ कानुन कार्यान्वयन, स्वदेशी उत्पादनको बजारको दायरा बढाउन सार्वजनिक निकायले गर्ने खरिदमा उपलब्ध भएसम्म १५ प्रतिशतसम्म मूल्य बढि भएपनि खरिद गर्ने नीतिगत व्यवस्थाको कार्यान्वयन, भन्सार मुल्याङकंन सन्दर्भ मूल्यको कार्य आगामी वजेटमा वैज्ञानिक बनाउन अनुरोध गरे ।