काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकांक्षी उमेशलाल श्रेष्ठले सरकारले निजी क्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रूपमा सबल हुन नसक्ने बताए।
अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन, सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने, सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाइराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाइदिन पर्यो नि।
हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन, उनले भने, हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्यौं तर हाम्रो कर्मचारीमा काम गर्ने शैली पञ्चायतकालिन नै छ।
कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारी तन्त्रको कार्यशैली बदलिने भन्दै तर नेपालमा कुनै पनि कार्यशैलीमा परिवर्तन नआएको उनको गुनासो थियो।
उद्योगी व्यवसायीले अहिले पनि राजा महेन्द्रको पालाको २०१९ सालको कानूनको अधिनमा रहेर व्यापार व्यवसाय गर्नुपरेको भन्दै कालाबजारी ऐनजस्ता झण्झटिला कानुनहरू तत्काल परिवर्तन गरिनु पर्ने उनको तर्क थियो।
हामीले अहिले बैंक विरुद्ध आन्दोलनमा छौं तर हाम्रा लागि त्यो भन्दा ठूलो समस्या नीति नियममा देखिएका समस्या हुन्, उनले भने, अहिले नियामक निकायले बैंकहरूलाई बिना लगाम छाडिदिँदा समस्या आएको छ त्यसमा सरकार र राष्ट्र बैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ।
यसैगरी, सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने उनको भनाइ थियो। जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकासमा लगानी गर्न आह्वान गर्नुहुन्न तबसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन, उनले भने, अहिले सरकारले हामी निजी क्षेत्रलाई निचोरेर भएपनि कर उठाउने काम गरेको भन्दै यसतर्फ सरकारले विशेष ध्यान दिनु आवश्यक छ।
राजनीतिक घरनामा जन्मिए पनि आफ्नो एउटै मुलमन्त्र उद्योग व्यवसाय सञ्चालन गर्दै देशलाई आर्थिक रुपमा सक्षम बनाउने भएको भन्दै व्यवसायीका समस्या समाधान गर्न पुनः महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रूपमा अघि बढेको जानकारी दिए।
अहिले महासंघ केन्द्र र जिल्ला नगरबीच त्यतिधेरै समन्वय भएको देख्दिन भने जिल्लाका समस्यालाई केन्द्रले चासो नदिएको आभास भएको छ,ु उनले भने, महासंघलाई सबै तहका उद्योगी व्यवसायी पुर्याएर राज्यसँग लविङ गरेर व्यवसायीको मसस्या समाधान गर्न मेरो ध्यान केन्द्रीत हुनेछ।
साथै, अहिलेको विषम परिस्थितीमा महासंघको नेतृत्व लिन आएको भन्दै अब हुने वरिष्ठ उपाध्यक्षको लागि आफूलाई मत दिएर निर्वाचित गराउन समेत श्रेष्ठले आग्रह गरेका छन्।