Wednesday, February 21Nepal News Portal
Shadow

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको पुनः आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए।

अध्यक्ष मल्लले भने, पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन्। ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन। यसअघि ऋण लिएकाहरूले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन। यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ।

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानकर्षण गराए।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताएका छन्।

उनले भने, पुँजीगत खर्च हुन सकेको छैन। सार्वजनिक ऋण कुल ग्राहस्त उत्पादन जिडिपीको ४२ % हाराहरीमा पुगिसकेको छ। आन्तरिक उत्पादन ठप्प हुँदा ब्यापार घाटा आकासिएको छ। रोजगारी सिर्जना हुन सकेको छैन।

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजस्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परीणाम दिनेगरी काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाइम कार्ड लागू गर्नुपर्ने मल्लको भनाइ छ।

डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन्।

संसदमा आफूहरूले यो विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएकोे उनको भनाइ छ।

अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरू पुरानो भएकाले पनि परिणाममुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ।

आफूहरू निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्दै सांसद श्रेष्ठले अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरुमा निजी क्षेत्रको सुझावलाई पनि पार्टीले ग्रहण गर्ने बताइन्।

सो पार्टीका अर्का सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताए।

मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे भएको अन्तर्क्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उपस्थित थिए।

Total Page Visits: 128 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्