काठमाडौं । खोटाङ उद्योग वाणिज्य संघको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १ सय ९६ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत धुर्वकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो। महासचिवमा अजय बस्नेत विजयी भए। उनले सुमन श्रेष्ठलाई पराजित गरे। कोषाध्यक्षमा युधीर शाक्य विजयी भए। उनले नेत्रबहादुर कटवाललाई हराएका हुन्।
संघको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए।