Friday, April 19Nepal News Portal
Shadow

अर्गानिक खाद्य सामाग्री अब सहर–सहरमा पुग्छ : अध्यक्ष उप्रेति (अन्तर्वार्ता)


 

No description available.

राष्ट्रिय खाद्य बैंक नेपालमा उत्पादन भएका कृषि उत्पादनहरूलाई बजारीकरण र भण्डारण गर्ने उद्देश्यसहित २०७७ कात्तिकमा स्थापना भएको हो । यो खाद्य बैंकले अहिले देशका तीन स्थानबाट देशका उत्पादनहरूलाई भण्डारण गरी आफ्नो सेवा दिँदै आएको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय भएको यस खाद्य बैंकले अहिले देशका विभिन्न स्थानबाट अर्गानिक खाद्य सामाग्री ल्याएर भक्तपुरको लोकन्थलीस्थित आर.के.बी.एल मार्टमार्फत बिक्री गर्दै आएको छ । यस बैंकले हाल गरिरहेको काम र यसका दीर्घकालीन योजनाको बारेमा बैंकका अध्यक्ष शंकर उप्रेतिसँग उद्योग न्यूज डटकमकी संवाददाता सीता बुढाथोकीले गरेको कुराकानी  :

राष्ट्रिय खाद्य बैंक भनेको के हो ?
राष्ट्रिय खाद्यन्न बैंक भनेको उत्पादन गर्ने, उत्पादनमा पनि प्राङ्गारिक खेती प्रणालीमार्फत प्राङ्गारिक खेतीबाट तयार गरिएका रैथानी विउबिजनबाट तयार गरिएका हाम्रा बाउ बाजेले छोडेर जानु भएका जुन पैत्रिक सम्पत्तिका रूपमा रहेका रैथानिक बालिहरू संरक्षण गर्ने र उत्पादन भएका खाद्य वस्तु बजारमा बिक्री गर्ने कम्पनी हो ।

हामी रैथानिक विउ विजनहरूलाई पनि प्राङ्गरिक खेती प्रणालीबाट अरु ठाउँबाट आइरहेका हाइब्रेडभन्दा बढि कसरी फलाउन सकिन्छ, त्यसबाट कसरी धेरै आम्दानी गर्न सकिन्छ भन्दै अनुसन्धान र अध्ययन गरेर अगाडि बढिरहेका छौँ । राष्ट्रिय खाद्य बैंक नेपालको कृषि उपज उत्पादनमा काम गर्ने गरी खुलेको पहिलो बैंक हो । यस बैंकको मुख्य उद्देश्य भनेको देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु हो ।

योे बैंकले उत्पादन भण्डारण बिक्री वितरणसहित रैथाने वालीनालीको संरक्षण गर्दै अर्गानिक खानेकुराहरू बिक्री गर्दै आएको छ । बैंकले विषादीरहित स्वस्थ खानेकुराहरू मात्र बजारीकरण गर्दै आएको छ । यो बैंकले एक लाखभन्दा बढी स्थानीय किसानहरूसँग सहकार्य गर्दै आएको छ ।

यस बैंक आफैँले उत्पादन गरेका सामाग्रीहरू के–के छन् ?
हाल यस बैंकले चामल, तोरीको तेल, चुक अमिलो, खैरो भटमास, घिउ, बेसार, मह, भाँगो, मस्यांग, चिया, कफी, दही, दुध, गेडागुडी लगाएतका कृषि सामाग्री उत्पादन गर्दै आएको छ । उत्पादन भएका सम्पूर्ण सामाग्रीहरू राष्ट्रिय खाद्य बैंकले नै आफ्नो गोदाममा भण्डारण गरी प्रशोधन र प्याकेजिङ्ग गरेर लोकन्थलीस्थित आर.के.बी.एल मार्टबाट बिक्री गर्दै आएको छ । जसले गर्दा किसानले उत्पादन गरेका सामाग्रीहरू सिधै उपभोक्ताका चुुलामा पुग्ने गरीे यो राष्ट्रिय खाद्य बैंकको डिजायन गरिएको हो ।

एक लाखभन्दा बढी किसानहरूसँग सहकार्य गरेर नेपाल खाद्य बैंकले हिमाली क्षेत्रमा धेरै उत्पादन भएका एक वर्ष लागेर फलेका अथवा अत्यन्त पोषण युक्त खानेकुराहरू संकलन गरेर ल्याउने गरेको छ । ती लोप हुँदै गएका सामाग्रीहरू काठमाडौं तथा देशका विभिन्न सहरहरूमा सहजै पाउने सक्ने गरी १२ महिना नै सुपथ मूल्यमा पाउने गरी खाद्य बैंकले आफ्ना गतिविधिहरू अघि बढाएको छ । राष्ट्रिय खाद्य बैंकले पोषण युक्त खानाहरू बनाएर प्याकेजीङ गरेर बजारीकरण पनि गर्दै आएको छ ।

यो खाद्य बैंकको स्थापना गर्नुको मुख्य उद्देश्य देशलाई कृषिमा आत्मनिर्भर बनाउन मात्र हो कि, अन्य देशमा निर्यात गर्न पनि हो ?

यो बैंकको मुख्य उद्देश्य भनेको देशलाई कृषिमा आत्मनिर्भर बनाउन मात्र नभई आवश्यकता अनुसार आयात र निर्यात गर्ने हो । कृषिमा देशलाई आत्मनिर्भर बनाउनेभन्दा अहिले बाहिरी देशबाट कृषिजन्य वस्तु ६ खर्बभन्दा बढीको देशभित्र भित्रिरहेका छन् । क्रमशः त्यसलाई कम गर्दै स्वदेशी वस्तुहरूले अथवा नेपालभित्र उत्पादन भएका कृषि उपजहरूले नै पु¥याउने गरी उत्पादन गर्ने यो बैंकको उदेश्य हो ।

राष्ट्रिय खाद्य बैंक आफैले खाद्यान्न, गेडागुडी –दलहन), हरियो तरकारीहरू, फलफूल, केरा, दही, दुध, माछा, मासु, अण्डा, जडिबुटी, चिया, कफी, उखु लगायतका खानेकुराहरू उत्पादन गर्ने उद्देश्य राखेको छ । त्यस्तै यो बैंकले आफ्नै लगानीमा सम्भावनाका अध्ययन र अनुसन्धान गर्नेछ । रैथाने जिन (पुराना बालीनालीको बिउ विजन) सम्बन्धी खोजतलास गर्ने छ । आधुनिकता अनुसार थोरै ठाउँमा धेरै कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्ययन र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ । सबै कुराहरूको थप अध्ययन र अनुसन्धान गरिनेछ ।

यो कम्पनी कति लगानीमा सञ्चालनमा आएको हो ? सर्वसाधारणलाई आईपीओ निष्कासन गर्छ कि गर्दैन ?
दुई अर्ब रुपैयाँ लगानी गरेर यो बैंकको स्थापना भएको हो । यो पब्लिक लिमिटेड कम्पनी होे आईपीओमा जान्छ । अहिले ९०० भन्दा बढि प्रमोटर शेयर सदस्यहरू सहभागी भएका छन् । दुई अर्ब पूँजीमध्ये आईपीओको लागि ३० प्रतिशत अर्थात् ६० करोड र प्रमोटरका लागि एक अर्ब ४० करोड गरी २ अर्ब रुपैयाँ पूँजी कलेक्सन गरेर राष्ट्रिय खाद्य बैंकले अगाडि बढ्ने गरी काम गरिरहेको छ ।

देशभरी खाद्य बैंकका कति ओटा शाखा छन् ?
अरु बैंकका जस्ता यो बैंकका धेरै शाखा हुँदैनन् । पूर्वको झापामा छ त्यसले सम्पूर्ण पूर्वको नेत्रित्व गर्छ । पश्चिमको बर्दियामा छ त्यसले सम्पूर्ण पश्चिमको नेत्रित्व गरिरहेको छ । त्यस्तैै अन्य ठाउँहरूमा उत्पादनसँग जोडिने खालको कुरामा, प्रविधिहरू पठाउने, प्राविधिकहरूले गएर काम गर्ने गरेको चाहीँ ३४ ओटा जिल्ला छन् ।

यो बैंकका दीर्घकालीन योजना के–के छन् ?
यो बैंक खुलेको नेपालको दीर्घकाली विकासका लागि हो । हामीले अल्पकालीन फाइदालाईभन्दा पनि देशलाई नै फाइदा कसरी हुन्छ र किसानलाई कसरी आयआर्जनमा जोड्न सकिन्छ भनेर काम गरिरहेका छौं । हामीलाई सरकारबाट आवश्यक सहयोग हुन सकेको छैन । सरकारले सहयोग ग¥यो भने हामी देशको उत्पादनलाई बजारीकरण गर्न जोड दिने थियौं ।

कतिपय नीतिगत कुराले गर्दा पनि असहज हुने गरेको छ । सरकारले त्यस्ता नीतिलाई सहज बनाइ दिनु पर्छ । यो देश विकास गर्ने भनेको कृषि उत्पादनले नै हो । अरू सम्भावना छैन् । कृषि उत्पादन बढाएर निर्यात गर्न सकियो भने हामीले खाद्य संकट टार्न सक्छौं ।

औद्योगिक कच्चा पदार्थका लागि प्रयोग हुने कृषि वस्तु उत्पादन गरेर निर्यात गर्ने नीति लिनु पर्छ । आयातमा भर पर्दा देश आर्थिक संकटमा पर्दै गएको छ । हामीले बुँदागत रूपमा नै हाम्रा दीर्घकालीन उद्देश्य प्रष्ट पारेका छौं । सरकारले केही सहयोग गरे हामी उद्देश्य अनुरूप काम गर्न सक्छौं ।

हामीले भने कै छौं प्राङ्गारिक मल उद्योगहरू खाद्य बैंकले सञ्चालनमा ल्याउछ भनेर । त्यसैगरी बिउ विजन भण्डार आफैले सञ्चालनमा ल्याउने, कृषि कलेजहरू संचालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरि बढी भएको खाद्यान्नहरू विदेश निर्यात गर्ने, कृषिलाई औद्योगीकरणमा लाने, कृषिसँग सम्बन्धित उद्योगहरूलाई संचालनमा ल्याउने, कृषिमा चाहिने मेशिनरी औजारहरू आफ्नै देशमा बन्न सक्ने जति निर्माण गर्ने, देशलाई समृद्धि बनाउने, किसानहरूलाई धनी बनाउँदै देशलाई आत्मनिर्भर गराउने र अर्गानिक वा प्राकृतिक खानेकुराहरू उत्पादन गर्ने हाम्रो दीर्घकालीन उद्देश्य हो ।

Total Page Visits: 273 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्