काठमाडौं, पुस ९ (ससं) । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।३१ वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेकोप्रहरीले बताएको छ ।
धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।