Tuesday, May 14Nepal News Portal
Shadow

नेपाल टेलिकमले ल्यायो नमस्ते पे को क्युआर कोड, के छन् सुविधा ?


काठमाडौं । नेपाल टेलिकमले नमस्ते पे को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिन सुविधा ल्याएको छ।

कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमकाबीच सोमबार सो सेवा सुरू गरिएको टेलिकमले बताएको छ।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे।

सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरेका छन्।

उनले भने, नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ। अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ।ु

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले भने, डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ। यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ।

उनले आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ।

यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिने बताइएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले नमस्ते पे सञ्चालन गरिरहेको छ।

Total Page Visits: 129 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्