Friday, May 3Nepal News Portal
Shadow

मेघौली विमानस्थलको स्तरोन्नति गरिदै


चितवन । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राभेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इन्जिनियर नलविक्रम थापाका अनुसार ६ महिनाभित्रमा ती काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । धावनमार्गमा ग्राभेल बिछ्याएर सम्याइने छ । यस्तै अहिले भइरहेको तारबारलाई व्यवस्थित बनाइने छ ।

हाल धावनमार्गमा घाँस भएको र खाल्डाखुल्डीसमेत पर्ने हुँदा जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार ठाउँ–ठाउँमा चुडिएको, पोल ढलेकाले मानिस र जनावर छिर्ने हुँदा असुरक्षासमेत हुँदै आएको छ ।

उनका अनुसार एक करोड ५० लाख रुपैयाा हाराहारीमा स्तरोन्नति गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले विगत केही वर्षयतादेखि सो विमानस्थल स्तरोन्नतिका लागि क्यानलाई अनुरोध गर्दै आएको थियो ।

महानगरपालिका प्रमुख रेनु दाहालले अहिले नै नियमित उडान नभए पनि चार्टर्ड र आपत्कालीन उडान गर्न मिल्ने गरी विमानस्थललाई व्यवस्थित बनाउन लागिएको बताइन् । उनले भनिन्, “अहिले ग्राबेल धावनमार्ग हुन्छ, पछि कालोपत्र बन्ने छ ।” भरतपुर महानगरपालिकाभित्रका दुई विमानस्थल मध्ये भरतपुर विमानस्थललाई विस्तार गरिँदै छ ।

उनले महानगरभित्रका दुवै विमानस्थल स्तरोन्नति र विस्तार गरी जुनसुकै समयमा पनि सञ्चालन गर्न सक्ने गरी काम गर्न लागिएको बताइन् ।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को ममंसिरदेखि मेघौली विमानस्थल बन्द रहेको छ । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित उडान भएको छैन । नेपाली सेनाले तालिमका लागि विमानस्थलको प्रयोग गर्दै आएको छ । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जंगल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।

विगतमा कुनै समय मेघौली विमानस्थलमा १० वटासम्म जहाजले उडान भर्ने गरेको तथ्यांक छ । भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौंबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी मेघौली विमानस्थलले पश्चिम चितवनको विकासमा टेवा पुग्ने बताए। मेघौली क्षेत्रमा ठूला पर्यटकीय होटल बढ्दै गएकाले विमानस्थलको स्तरोन्नति भएसँगै चार्टर्ड उडान र भविष्यमा नियमित उडानसमेत हुनसक्ने बताए ।

महानगरपालिकामा जनप्रतिनिधि आएसँगै दुवै विमानस्थल व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ । मेघौली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रवेश गर्न सहज छ । रासस

Total Page Visits: 230 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्