काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर-
८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।
१११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।
ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।
त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए । समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् ।