काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २० स्थित हलेसी ‘महाद्यः रञ्जित चुकःमा’ सन्तानको माया’ अनलाइन फोटो प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । अनलाइन फोटो प्रतियोगितामा प्रतियोगीहरुमध्ये रूपा पोखरेल र उनकी छोरी कृष्टी पौडेल प्रथम भएका थिए । उनीहरुलाई फूलको माला पहिराई ट्रफी, मेडल र नगद प्रदान गरिएको छ । त्यसैगरि द्वितीय नीरू महर्जन र उनकी छोरी अञ्जु डंगोल रहेका छन् भने तृतीय हुनेमा सपना शिलाकार र उनका छोरा सौगात शिलाकार रहेका छन् ।
मह जोडीको प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रमा मह जोडीको म यानकि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकुल असर परेकोले उनले उपस्थिति जनाउँन सकेका थिएनन् । कार्यक्रममा महको ह यानकि हरिबंश आचार्य उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका थिए ।
त्यस्तै सो समारोहमा स्थानीय समाजसेवी एवं जेष्ठनागरिक केदारमान रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यले दोसल्ला ओढाई अभिनन्दन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा बिभागका निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथिका रुपमा उपस्थित थिइन् । त्यस्तै महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी उपरीक्षक डिलबहादुर मल्लले कार्यक्रमा अतिथिको रुपमा सहभागि जनाएका थिए ।