Friday, May 3Nepal News Portal
Shadow

सकियो तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मतको काम


काठमाडौं । तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मतको काम भईसकेको छ।

तुलसीपुर–घोराही चारलेन बनाउने नाममा खनेर लथालिंग अवस्थाको सडकमा यात्रा गर्दा सर्वसाधारणले निकै सास्ती खेप्नु परेको देखेपछि युवाहरूआफ्नै खर्चमा मर्मत गर्न कस्सिएका थिए।

तुलसीपुर खण्डमा पर्ने ११ किलोमिटर सडकखण्ड मर्मत तथा खाल्डाखुल्डी पुर्ने अभियान पूरा भएपछि अभियन्ताहरूले मंगलबार पत्रकार सम्मेलन गरी जानकरी दिएका छन्।

तुलसीपुर क्षेत्रका युवा व्यवसायी र निर्माण व्यवसायीले आ–आफ्ना तर्फबाट सहयोग गरेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियरले बताएका हुन्।

सडक मर्मतको अभियानमा नियमित गरी कुल ७८ वटा सवारी साधनको प्रयोग भएको, ग्राभेल र माटोको परिणाम २१ सय घनमिटर बोकेको कार्यक्रममा जानकारी दिइएको थियो। कुल २५ लाख मूल्य बराबरको सडक मर्मतको काम भएको इञ्जिनियर योगीले विवरण सार्वजनिक गरेका हुन्।

कार्यक्रममा क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियन्ता तथा व्यवसायी विमल रिजालले तुलसीपुरका युवाहरू मिलेर गरेको कामले राज्य ब्यूँतन्छ कि ? भन्ने आशा गरिएको तर्क गरे।

‘तुलसीपुर–घोराही सडकको अवस्था बिजोग छ र पनि राज्य मौन छ,’ उनले प्रश्न गरे, ‘निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कि छिटो काम गर हैन भने ठेक्का रद्द हुन्छ भनेर सरकार किन भन्न सक्दैन ?’

रिजालले तुलसीपुर र घोराहीका प्रत्येक वडाले आफ्नो क्षेत्रमा पर्ने सडक मर्मत तथा खाल्डाखुल्डी पूरे मात्रै सर्वसाधारणले अहिले जस्तो सास्ती खेप्नु नपर्ने बताए।

‘एउटा इञ्जिनियरको योजनामा यति धेरै सहयोग जुट्न सक्छ भने स्थानीय सरकारले चाहेमा काम किन हुँदैन ?,’ उनले भने ‘ आम जनतालाई केन्द्रमा राखेर काम गर्ने इच्छा शक्ति भए काम सहजै हुन सक्छ।’

त्यसो भएमा सर्वसाधारणले यात्रामा भोग्दै आएको सास्ती कम हुने उनले बताए।

कार्यक्रममा उपस्थित सबैले युवाहरूले आपसमा मिलेर एउटा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए।

उनीहरूले भविष्यमा पनि यसैगरी सामाजिक कार्यमा लाग्न आग्रह पनि गरेका थिए।

Total Page Visits: 211 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्