Friday, May 10Nepal News Portal
Shadow

राजधानीमा मात्र झन्डै एक लाख घरेलु उद्योग, देशभर खुलेकामध्ये २० प्रतिशत काठमाडौं उपत्यकामा


काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा राजधानी काठमाडौंमै सञ्चालन भइरहेको पाइएको छ । मुलुकभर दर्ता तथा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये करिब २० प्रतिशत राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको तथ्यांकले देखाएको छ । उद्योग विभागले सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक’ अनुसार साना उद्योग सहरी क्षेत्र केन्द्रित भएका हुन् ।

विभागका अनुसार हालसम्म दर्ता भई नवीकरणसमेत भइरहेका ४ लाख ७८ हजार १ सय ८७ लघु, घरेलु तथा साना उद्योगमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजार ५ सयको संख्यामा रहेका छन् । यस्तै ललितपुरमा १७ हजार ६ सय ५२ र भक्तपुरमा ८ हजार ३ सय ४० को संख्यामा लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । यी तीन जिल्लामा रहेको उद्योगको संख्या कुल उद्योगमध्ये १८.०८ प्रतिशत हो । काठमाडौं जिल्लामा मुलुककै सबैभन्दा बढी लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । कुल उद्योगमा काठमाडौंको हिस्सा १२।६५ प्रतिशत रहेको छ ।

बजारको सहज पहुँच तथा जनशक्ति व्यवस्थापनमा सहजताका कारण सहरी क्षेत्रमा घरेलु उद्योगको आकर्षण बढिरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाको लगानी जुटाउन पनि सहरी क्षेत्रमै सहज भएकाले उपत्यकाका तीन जिल्लामा घरेलु उद्योगको दर्ता बढी भएको हो । यद्यपि, ग्रामीण क्षेत्रमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा अझै पनि दर्ता प्रक्रियामा आइनसकेका कारण ती क्षेत्रका उद्योगको संख्या कमी देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

औद्योगिक व्यवसाय ऐनले घर जग्गा बाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पूँजी भएको उद्योगलाई लघु उद्यम मानेको छ भने जसमा उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको हुनुपर्ने तथा उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको हुनुपर्ने प्रावधान छ । यस्तै, परम्परागत सीप र प्रविधिमा आधारित, श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित उद्योगलाई घरेलु उद्योगमा गणना हुन्छन् । लघु घरेलु तथा साना उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा उच्च १ लाख ७८ हजार ६ सय ६२ संख्यामा रहेको छ ।

दोस्रो स्थानमा रहेको कृषि तथा वनजन्य उद्योगको दर्ता तथा नवीकरण संख्या १ लाख ३९ हजार १ सय ७६ रहेको छ भने उत्पादनमूलक उद्योग तेस्रो स्थानमा रहेको छ । विभागका अनुसार हालसम्म दर्ता तथा नवीकरण भएका उत्पादनमूलक उद्योगको संख्या १ लाख ७ हजार ७ सय ७९ रहेको छ । पर्यटनतर्फ ५० हजार ९ सय ४० तथा निर्माणतर्फ ९ हजार ६ सय ८ उद्योग दर्ता तथा नवीकरण भएका छन् । यस्तै, ऊर्जातर्फ ५ सय ८३ लघु घरेलु उद्योग दर्ता हुँदा खनिजतर्फ ४ सय ८३ र सूचना प्रविधिका क्षेत्रमा ४ सय १२ उद्योग दर्ता र नवीकरणसहित अद्यावधिक भएको तथ्यांक छ ।

वित्तीय क्षेत्र विकास रणनीति, २०७४–२०७७/०७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेका छन् । यस्तै यी उद्योगबाट झन्डै १७ लाख रोजगारी सिर्जना भएको छ । अन्र्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने कतिपय मुलुकहरुमा एसएमइहरुले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेको पाइन्छ । कारोबार दैनिकबाट

Total Page Visits: 932 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्