Friday, May 10Nepal News Portal
Shadow

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछुः वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौं प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनः स्थापित गर्नेगरी काम गर्नुपर्ने देखिएको छ। यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न आवश्यक छ।

उनले सस्तो लोकप्रियता र भीडमा तालिका लागि मात्र गैर-जिम्मेवार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे।

म निजी क्षेत्रका साथीहरूलाई वास्तविक र व्यावहारिक बन्न आग्रह गर्दछु। त्यसबाट बाहिर गएर भीडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौं। सस्तो लोकप्रियताका लागि यस्ता गैर-जिम्मेवार कुराका पछाडि नलागौं। यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउँन सक्छ, उनले थप भने।

कोरोना भाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिटेन्सको आप्रवाहमा कमि आएको बताएका छन्।

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको समेत बताए।

कोरोना भाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरूबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ। त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरूलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए। बैंकहरूले पनि सहज रूपमा कर्जा दिएकै हुन्। उद्योगी व्यवसायीहरूले कर्जा लिएर घर जग्गा किनेको पनि हो, उनले भने, तर महामारीपछि जब वैदेशिक रोजगारमा जाने क्रममा कमि आयो, गएकाहरू पनि फर्किने क्रम बढ्यो, पर्यटकहरू आउने क्रम रोकियो, तब बैंकमा रहेको तरलता सकिँदै गयो।

उनका अनुसार त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन गर्नका लागि मुद्दतीमा ५० % र बचतमा एक सय प्रतिशत जस्तो ब्याज बढाउने नीति लियो। त्यसको फलस्वरुम करिब ८ % मात्र तरलता बैंकमा आयो। तर, यसले बैंकको लागत बढ्न गयो। उनले भने, बैंकको ब्याज बढेपछि तरलता बढ्छ भन्ने सोचेका थियो। तर त्यसो हुन सकेन।

उनले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे।

वैदेशिक रोजगारमा जानेको संख्या अहिले बढेको छ। विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ। रेमिटेन्सको आप्रवाह पनि बढेको छ, उनले भने, अहिले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा सुधार देखिएको छ। आगामी दिनहरूमा अर्थतन्त्र योभन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन। केही न केही सुधार हुनेमा विश्वस्त छु।

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले महासंघको विधानमा रहेका केही प्रावधानहरू नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्नेपर्नेमा समेत जोड दिए।

Total Page Visits: 218 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्