Friday, May 10Nepal News Portal
Shadow

एफएनसिसिआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रूपमा काम गर्छु :वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्ने बताएका छन्।

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ? विषयक कार्यक्रममा आफूले एफएनसिसिआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सहयोगी र सेतुको रूपमा काम गर्ने बताएका हुन्।

‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्नेछु, उनले भने, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रिय रूपमा उद्योगी व्यवसायीहरूको समस्या समाधानमा काम गर्नेछु।

उनले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रिय रूपमा सहकार्य गर्ने पनि बताए।

कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए।

‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो, उनले भने।

बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे।

सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाइ छ।

कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका बिराट अनुपमले प्रदेशमा आर्थिक गतिविधिका लागि उच्चतम संभावना भएको भन्दै बिबिआइएनमा कोशी प्रदेशले नेतृत्व लिनसक्ने औंल्याए।

उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरूसम्म यातायात सहजता भएको हुँदा यसले बजार विस्तार गर्न सकिने बताए।

‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात् हाइड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड, टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनु पर्नेछ। यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ,’ उनले भने।

बिराट अनुपमले भुटानी नागरिकहरूलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्‍याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहितका योजनाहरू ल्याउन निजी क्षेत्रसँगसमेत आग्रह गरे।

जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरूको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आह्वान गरे।

‘यसअघि पनि युवा नेतृत्वलाई रोक्ने काम हुँदै आएको छ। तर अब यस पटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन्,’ उनले भने।

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरूले निजी क्षेत्रका नेतृत्वले नियमित रूपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए।

उनीहरूले अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए।

त्यसैगरी, सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरूले सुझाव दिएका छन्।

Total Page Visits: 206 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्