Friday, May 3Nepal News Portal
Shadow

उत्पादन बढाउन वैदेशिक रोजगारीमा जान कडाइ गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष बजिमयको अन्तरवार्ता


खोटाङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको सदस्य संस्था हो । यस संस्थामा खोटाङ जिल्लामा विभिन्न उद्योग तथा व्यवसाय गर्दै आएका व्यवसायीहरू संगठित छन् । संघले सदस्य संस्थाहरूमा आई परेका कठिनाइहरूको सामूहिक रूपमा सामाधान गर्ने, सदस्यालाई परेको समस्याको ओकालात गर्ने, मार्ग निर्देशन र उद्योगी व्यवसायीलाई आवश्यक तालिमको व्यवस्था गर्ने जस्ता कामहरू गर्दै आएको छ । यसका साथै जिल्ला भित्र व्यवसाय गर्दा परेका अफ्ठ्यारालाई समाधान गर्न स्थानीय सरकारसँग संघले समन्वयकारी भूमिका खेल्दै आएको छ । उक्त संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार बजिमयसँग उद्योग न्यूजका मनकुमार चौहानले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश :

 

No description available.

खोटाङ उद्योग वाणिज्य संघमा दर्ता भएका सदस्य संस्थाहरू कति छन् ?
खोटाङ उद्योग वाणिज्य संघमा सदस्य संस्थाहरू लगभग १७ सयभन्दा बढी छन् । तर, नविकरणको हिसाबले हेर्ने हो भने पछिल्लो आंकडा अनुसार लगभग ७ सयको पेरीफेरीमा छन् । हाल ७ सयले नविकरण गरेको अवस्था छ । फरक आउँनुको कारण कतिपय साथिहरूले कृषिमा अनुदान पाउने भएर दर्ता गर्ने र दर्ता गरेर अनुदान लिने त्यसपछि फमलाई नै छोड्दिने एउटा परिपार्टी छ । त्यो परिपार्टीका कारणले सदस्यको संख्या चाहीँ ह्वात्तै बढ्यो । नविकरण गर्ने संख्या भने न्यून रह्यो ।

यो समस्या हाम्रो उद्योग वाणिज्य संघमा मात्र नभई कर कार्यालयमा पनि छ । उहाँहरूको वार्षिक बुझाउनु पर्ने करका कारणले गर्दा नन् फाइलहरूका रूपमा धेरै संख्यामा व्यवसायी, उद्यमी र कृषकहरू रहनु भएको छ । एउटा चेतनाको कमीका कारणले पनि यस्तो भयो । यो कुराहरूलाई व्यवस्थापनका लागि अब आउनेहरूलाई हामीले सूचना पु¥याउने काम पनि गरिरहेका छौं । हामीले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट भनिरहेका छांै । तथाप्पी अब नयाँ आउनेहरूलाई दर्ता गर्नुभन्दा अगाडी प्रक्रियाहरू कस्तो हुन्छ र दायित्वहरू के–के हुन्छ । व्यवसायीले सरकारप्रति, जनताप्रति र उपभोक्ताप्रति कस्तो जिम्मेवारी हुन्छ भन्ने कुरा थाहा पाउनु पर्छ ।

यो संघमा दर्ता हुन व्यवसायीलाई के–के कागजपत्रको आवश्यक पर्छ ?
दर्ता प्रक्रियाका लागि त्यस्तो धेरै केहि चाहिँदैन । सर्वप्रथम आफ्नो नगरमा दर्ता गर्नुपर्छ । त्यसपछि घरेलू तथा साना उद्योगमा गएर दार्ता गर्नुपर्छ । आन्तरिक राजस्व कार्यालयमा करको लागि दर्ता गर्नुपर्छ । त्यो गरीसकेपछि यस संघमा आएर एउटा सदस्य फम भरेपछि हुन्छ । धेरै ठुलो समस्या छैन ।

घरेलुमा र नगरपालिकामा जति पनि दर्ता भएको फमहरु छन् ती सबै सदस्य बनेका छन् त ?
सबै बनेका छैनन् । हामी बनाउने प्रक्रियामा छांै । कतिपयले वाणिज्य संघको आवश्यकता महसुस गरेका छैनन् । यो त एउटा संस्था न हो, व्यवसायीहरूको छाता संगठन हो । कतिपयले यो संघको हामीलाई आवश्यक छ भनेर एक भएर जाने महसुस गरेर आउने गर्नु भएको छ । कतिपयलाई थाहा पनि नहुन सक्छ । सदस्यता शुल्क १ हजार रुपैयाँ लाग्छ । वार्षिक नविकरण शूल्क ४००/५०० सम्म लाग्ने गरेको छ ।

संघका भावि योजनाहरू के–के छन् ?
अहिलेसम्म हामी पुरानो शैलीमै अगाडि बढिरहेका छौं । सचिवालय व्यवस्थापन र भइपरी आउने कामहरूलाई व्यवस्थापन गर्ने काम गरी रहेका छौं । अब नयाँ ढङगले जाने हो भन्ने हिसाबले हामीले यो नयाँ कार्य समितिले ३ वर्षको कार्य योजनाहरू नै तयार गरिरहेका छौं । स्थानीय, प्रदेश र संघीय सरकारसँग मिलेर विभिन्न कार्यहरू गर्ने हाम्रा योजना छन् । दिक्तेल बजारको आसपासमा मध्यपहाडी राजमार्गले छोएको छ । त्यो ठाउँमा एउटा कृषि उपजहरू कृषिजन्य सामानहरुलाई संकलन गर्ने, भन्डारण गर्ने र वितरण गर्ने योजना बताएका छौं । यो बनाउन सकियो भने भोलीका दिनमा कृषकहरूलाई बजार कहाँ हो भन्ने समस्या हुँदैन । धेरै उत्पादन हुँदा सस्तोमा बेच्नुपर्ने र थोरै उत्पादन हुँदा धेरै महंगोमा बेच्नुपर्ने त्यो खालको अवस्था सृजना हुँदैन । संकलन, भन्डारण र वितरण केन्द्रको स्थापना गर्ने हिसाबले छलफल गरिराखेका छौं । जो उद्यमहरू सञ्चालन गर्न चाहन्छन् उनिहरूको लागि हाम्रो खोटाङको दिक्तेलमा दुई–तीन ओटा उदाहरणहरू छन् ।

उहाँहरूले ठूलो लगानी उद्योगमा लगाएर अहिले सञ्चालन गरिरहनु भएको छ । उहाँहरूले अध्ययन नगरी लगानी गर्नु भयो जसको परिणाम पछि देखिन्छ । अब आउने नयाँ व्यवसायी र उद्योगीले अध्ययन गरेर बुझेर मात्र लगानी गर्नु पर्छ । विभिन्न सामानको समस्याले गर्दा आफ्नो उद्योग नै धरासयी बन्ने तथा आफ्नो ठूलो लगानी जोखीममा पार्ने जस्ता अवस्थाहरु सृजना भएको छ । त्यो सृजना कम गर्नका लागि हामीले स्थानीय सरकारसँग समन्वय गरेर उद्योग वाणिज्य संघमा आवद्ध भएर जसले उद्यम गर्न चाहानु हुन्छ, त्यहाँ आएर सबै कुराको जानकारी लिन सक्नुहुन्छ । त्यसको मार्केट एनलाइसिस गर्ने पुरै विजनेश प्लान गर्न सक्ने गरी एउटा केन्द्रको रूपमा विकास गर्ने भनेर पनि हामीले छलफल गरिरहेका छौं ।

खोटाङमा यातायातको सहजता अझै पनि राम्रो छैन । जसको कारण खोटाङका विभिन्न ठाउँबाट बजारमा आउने कृषिजन्य सामानहरू फलफुल, सागसब्जी लगायतका सामानहरू बोकेर ल्याउनु पर्ने वाध्यता छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । यसको लागि स्थानीय सरकारलाई हामीले यातायातको सहजीकरण गरिदिन भनेका छौं । यसले कृषकहरूलाई पनि उत्पादनको क्षेत्रमा प्रोत्साहन हुन्छ । बाहिसबाट आउने सामानहरूसँग पनि कम्पिटिसन गर्न सजिलो हुन्छ ।

कृषि क्षेत्रमा सरकारले सहयोग गरेको छ कि छैन ? सरकारले सुधार गर्नुपर्ने केही छ ?
सरकाले कृषि क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । तर, समस्या कहाँ छ भने लगानी गरेको ठाउँमा अनुगमन भएको छैन । सरकारले दिएको अनुदानको सहि ठाउँमा सदुपयोग भएको छ वा छैन भनेर अनुगमन चै अहिलेसम्म नहुँदा त्यसको प्रतिफल खासै छैन ।

लगानी गर्यो सक्यो । त्यो पैसा खाएर सक्यो कि के गर्यो त्यो कसैलाई चासो छैन । सरकारले पहिला उसले उत्पाद गरेका बस्तु खरिद गर्ने ग्यारेन्टि गर्नुपर्यो । अनि मात्र लगानी गर्ने हो । सरकारले अनुदान भन्दा सुरुमा कृषिमा उत्पादन बढाओ म खरिद गर्छु भन्यो भने कृषिमा विकास हुन्छ । कतिपय कार्यक्रमहरूमा उत्पादन गर भन्ने तर उचित बजार नभएपछि कृषकहरू निरूत्साहित भएका कुराहरु पनि धेरै छन् ।

अहिले कृषक हुँ भन्ने र वास्तविक कृषक भनेको को हो त पहिचान नै छैन । २ ओटा बाख्रा पाल्नेलाई कृषक भन्न मिल्दैन । व्यावसायिक रूपमा कृषक हुनु पर्यो । १० ओटाभन्दा बढि वस्तु हुनुपर्छ । ४–५ रोपणी भन्दा बढि जग्गामा कृषि गरेको हुनुपर्छ । हामीले लगानी गर्ने भनेको व्यावसायिक कृषिमा हो । जसका कारण त्यहाँबाट उत्पादन भएका सामाग्रीहरूले बजारमा प्रतिस्पर्धा गर्न सकोस । जब उत्पादन हुन्छ, तब उत्पादन बढ्ने हो । उत्पादन र सहज यातायात भयो भने उद्योग फष्टाउँछन् ।

सरकारले यातायातको सहजिकरण गरिदियो भने खोटाङ जिल्लामा उत्पादनको कति सम्भावना छ ?
खोटाङ जिल्लामा उत्पादनको सम्भावना धेरै छ । तर वैदेशिक रोजगारीका कारणले गर्दा उत्पादन धेरै हुन सकेको छैन । त्यसको लागि वैदेशिक रोजगारी ठप्प बनाउनु पर्छ । हुनत देश रेमिट्यान्सले चलेको छ । तर युवा वैदेशिक रोजगारमा जाँदा उर्वर भूमि बाँजा छन् । जुन उत्पादन युक्त जमिनहरू छन् ती जमिन बाजिएर जंगल भएका छन् ।

युवाजति रोजगारीको खोजीमा विदेश जाने, उको परिवार छोराछोरी पढाउन भनेर शहर गएर बस्ने अनि कसरी उत्पादन बढ्छ । शहरमा बस्नेले त बाहिरबाट किनेर ल्याएको खान्छ । देशमा काम गर्ने एक जना खाने धेरै भयो । सबैले काम गर्नुपर्छ । जब काम गर्छ तब उद्योगमा फाइदा हुन्छ । त्यसकारण वैदेशिक रोजगारी ठप्प बनाउँनु पर्छ । अनि मात्र सबैले माटो कोट्याउन थाल्छन् ।

अहिले विश्वभरी आर्थिक मन्दी आइरहेको छ । जो कोही पनि व्यवसाय सुरु गर्न चाहानु हुन्छ भने लगानी गर्न अहिले एकदमै जोखिम छ । विचार पु¥याएर गर्नु होला । उद्योग वाणिज्य संघसँग आएर सल्लाह गर्नु भयो भने जोखीमहरू न्यूनिकरण गर्न सकिन्छ ।

Total Page Visits: 244 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्