Tuesday, May 7Nepal News Portal
Shadow

प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भयो सम्पन्न


काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबुटि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समिक्ष गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउन आग्रह गरे।

मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दैै कृषकले अपनत्व महसूस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपक कुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तररूपमा निकासा हुँदै जाने स्पष्ट पार्दै कृषि बीमालेख निरन्तर जारी गर्न, नियमसङ्गत् रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा अनुदानबाट लक्षित बर्गले लाभ पाए नपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्दै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत बर्ग, साना किसान एवम् लक्षित बर्गलाई लाभ पुग्नेगरी कृषि बीमा अनुदानको व्यवस्था हुनसके त्यसको प्रभावकारी बढ्ने बताए ।

अध्यक्ष सिलवालले भने, “कृषि तथा पशुपन्छी बीमाले कृषि क्षेत्रको उत्पादकत्व बृद्धि र गरीबी न्यूनीकरणमा सहयोग पु¥याउँछ । उधारो बीमा गर्न नपाइने भएकाले त्यसलाई ध्यानमा राखी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान रकम निकासा हुने व्यवस्था गर्नुपर्छ । सरकारले कामको प्रकृति अनुसारको जिम्मेवारी सम्बन्धित निकायलाई दिनुपर्छ । हाल जोखिम बढ्दै गएकाले कृषि बीमालाई दीगो बनाउन रिप्राइसिङ्ग जरूरी छ । स्थानीय तहले कृषि बीमामा अनुदान थप गर्नुभन्दा उक्त रकम बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरे बीमाको पहुँच विस्तारमा सहयोग पुग्छ ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुृरमण पौडेलले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ३१ हजार ४ सय १६ कृषि तथा पशुपन्छी बीमा दावी फछ्र्यौट भई १ अर्ब ४२ करोड ८३ लाख ८१ हजार बराबरको दावी भुक्तानी भएको जानकारी दिए ।

Total Page Visits: 175 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्