Tuesday, May 14Nepal News Portal
Shadow

प्रविधिको प्रयोगसँगै व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै खाद्य बैंक


सीता बुढाथोकी,

काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट अरबौं रुपैयाँको कृषिउपज आउँछ । भारतबाट मात्र पनि एक खर्बभन्दा बढीको कृषि उपज नेपाल भित्रिने गरेको छ । त्यसमा पनि नेपालमै उत्पादन गर्न सक्ने खाद्य वस्तुमा बढी छन् । कृषि मन्त्रालयका अनुसार नेपालको प्रतिव्यक्ति धानखपत प्रतिवर्ष १३७.५ केजी छ ।

धान, मकै, फापर, गहुँ, कोदो, तेलजन्य कच्चापदार्थ, तरकारी जस्ता कृषि उपजहरू नेपालमै उत्पादन गर्न सकिन्छ । कृषिजन्य भूमि मासिँदै गएपछि खाद्यन्नमा नेपाल परनिर्भर भएको छ । यसका साथै नेपालमा व्यावसायिकभन्दा पनि आफ्नो गुजाराका लागि बढी खाद्य वस्तु उत्पादन हुने गरेको छ ।

नेपालमै खाद्य वस्तु उत्पादन गरेर आयातित खाद्य सामग्रीको कम खपत गर्न नेपाल खाद्य बैंकले आधुनिक कृषि सामाग्री उत्पादन तथा प्रशोधन गर्न थालेको छ । ७५३ वटै स्थानीय तहमा पुग्ने गरी यो बैंकले काम गरिरहेको छ । विज्ञ समूहले स्थापना गरेको यो खाद्य बैंकले नेपालको कृषि क्षेत्रमा क्रान्ति गर्ने लक्ष्य राखेको छ । आधुनिक प्रविधिको प्रयोग गर्दै खाद्य वस्तु उत्पादन गर्ने र देशभरीका शहरमा गाउँ–गाउँमा उत्पादन भएका खाद्य वस्तु पु¥याउने यो खाद्य बैंकले लक्ष्य लिएको छ । त्यस्तै प्राङ्गारिक खेतिलाई यो खाद्य बैंकले प्राथमिकता दिएको छ ।

हाल राष्ट्रिय खाद्य बैंकले ८ प्रजातिका रैथाने विउ विजनको उत्पादन आफ्ना पाइलट प्रोजेक्टहरूमा गरिरहेको खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले जानकारी दिएका छन् ।

खाद्य बैंकले लोकन्थली स्थित आर.के.बी मार्टमा सावित्री धान र चामल, मेलम्ची जिरा मसिनो चामल, सावा मन्सुली, जेठो बुढो चामल, कालानामक चामल, बासमती चामल र घिउपुरी चामल बिक्री गर्दै आएको छ । त्यसैगरी कालो दाल मसुरो, मूंग दाना, केराउ, रहर दाल, आलस, विरे नुन, गहुँको पिठो, सेतो र खैरो भटमास, तोरीको तेल, चुक, घिउ, बेसार, मह, भांगो, मस्यांग आदि बिक्रीमा राखिएको छ ।

धान खेतिसँगै हाँस पालन

खाद्य बैंकले खेतिसँगै हाँस पालन पनि गरेको छ । हाँस पालनबाट आयआर्जन हुनुकासाथै धान खेतिको उत्पादन बढाउन सहयोग पुगेको अध्यक्ष उप्रेति बताउँछन् । हरियो फिरेको धानखेत भरी सलह चरिरहेका हाँसले आफ्नो चारो खोज्ने क्रममा धान खेतलाई गोड्ने पनि उनको भनाइ छ । हाँस आफ्नो चुच्चोले र खुट्टाले गराको माटो चलाउँछन् ।
माटो निरन्तर चलाएपछि धानलाई गोडमेल पुगेर बड्न मद्दत पुग्ने गर्दछ । हाँसलाई दैनिक धानखेतमा छोडिएका कारण अन्य झारपात पनि उम्रन पाउँदैनन् । त्यस्तै धानको बोटमा लाग्ने किरा फट्याङ्ग्रा सबै खाने हुनाले हाँसलाई आहार पनि पुग्छ र रोग नियन्त्रण हुन्छ ।

कृषकलाई प्राविधिक ज्ञान दिएर उत्पादन बढाउन सहयोग गर्दै

खाद्य बैंकले गाउँघरका किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने लक्ष्य पनि राखेको छ । आफ्ना प्राविधिकहरूले किसानलाई प्राङ्गारिक खेति प्रणालीका बारे प्राविधिक ज्ञान निःशुल्क प्रदान गरिरहेको पनि अध्यक्ष उप्रेति बताउँछन् ।

उपे्रतिका अनुसार अहिले खाद्य बैंक देशभरी १ हजार विग्गा जमिनमा खेति लगाउने तयारीमा छ । अहिले पानी परेका कारण रोपाई धमाधम चलिरहेको तर रोपाइँ नसकिएको उनी बताउँछन् । “हामीले खेति गर्दा दिनको १०० देखी डेढ सयसम्म कामदार लगाएका छौं । झापामा हामीले चैत्रमा रोपेर असारमा पाक्ने धान भित्राइसकेका छौँ । बर्खाको सिजनले गर्दा हामीले चैते धानको खेति धेरै गर्न सक्दैनौं । बर्खामा पानी पर्ने भएकाले आफै ड्राई गने मेसिन आवश्यक पर्छ । तर, हामीसँग त्यस्ता मेसिन उपलब्ध छैनन्,” उनले भने ।

उप्रेतिले नेपालका पहाडी क्षेत्रहरूमा प्राय सिमी, वोडी, मास, तोरी, धान, कोदो लगायतका वालीहरु एकै सिजन मात्र उत्पादन हुने र त्यसलाई नै गोदाममा ल्याएर भण्डारन गरी बिक्री गर्ने गरिरहेको बताए ।

उनले भने, “हाम्रो आफ्नै कोल स्टोर भएपछि फलफूल तथा तरकारीलाई पनि जोड दिनेछौं,” उनले भने, “व्यवस्थापकीय कुरामा हामी मजबुद भएपछि किसानहरूका सबै खालका कृषि उत्पादनलाई ल्याएर भण्डारण र बिक्री गर्नेछौं । पैसा अनुसारको र वस्तु अनुसारको मूल्य जति पर्ने हो, त्यसमा सबैले खरिद गर्न सक्ने गरी हाम्रा मार्टहरूमा व्यवस्थापन गर्ने गरी तयारी गरिरहेका छौंं ।”

खाद्य बैंकले हारवेष्टर र ड्रोनको प्रयोग पनि गरेको छ । यसले कृषि बालीको हेरचाह र सुरक्षा गर्न पनि सहयोग पुगेको बताइएको छ ।
सरकारले सहज वातावरण बनाइदिनु पर्ने

यो वर्ष सरकारले पहिलाको तुलनामा मल समयमा नै ल्याएको छ । तर, सरकारले समयमा ल्याए पनि प्रदेश र स्थानीय निकायले समानुपातिक वितरण गर्न नसकेको उनको आरोप छ । स्थानीय तह र प्रदेश तहको कमजोरीले मल प्रयाप्त रूपमा नपाइएको उप्रेतिको गुनासो छ ।

“किसानलाई जतिखेर चाहियो त्यतिखेर गएर ल्याउन पाएन सहज हुने हो । यो त खसिको मासु भाग लगाए जस्तो सबैलाई भाग लगाएर ३ देखी ४ किलोसम्म भाग लगाइएको छ । त्यो भनेको सहजता चाँहि हैन,” उनले भने, “पहिलाको तुलनामा कम कठिन चाँहि हो । प्रयाप्त रूपमा चाँहिए जति चाँहि मल पाएको अवस्था छैन । हामीले गाउँमा गएर ८–१० बोरा मल चाँहियो भनिउ भने २ बोरासम्म चाँहि पाइन्छ ।”

सरकारले सहज रूपमा काम गर्न सक्ने वातवरण बनाइदिए कृषक तथा व्यवसायीलाई सहज हुने उप्रेतिको भनाइ छ । सरकारले अभिभावको भूमिका निर्वाह गर्न आवश्यक रहेको पनि उनले बताए ।

 

Total Page Visits: 196 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्