Sunday, May 12Nepal News Portal
Shadow

आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, सार्वजनिक बिदा


काठमाडौं । आज (पुस २७ गते) पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो ।

सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।
उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपाको छ । विगतमा उक्त दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।

इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।

यसैबीच पृथ्वीजयन्तीको अवसरमा गोरखाबाट काठमाडौं आएको एकीकरण पदयात्रासहितको ¥यालीलाई आज हनुमानढोकास्थित शार्दूल जंग गणले बाजागाजासहित नगर परिक्रमा गराउँदैछ । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Total Page Visits: 220 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्