Saturday, May 18Nepal News Portal
Shadow

भारतबाट ५१ करोडको कोदो आयात


काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन थालेको हो ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार ७३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार ६०५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए । रासस

Total Page Visits: 111 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्