काठमाडौं, (ससं) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ सकिएको छ । अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।
कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको थियो । सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका थिए । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा को पक्षमा निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समय उक्त रिटमाथि सुनुवाइ भएको थिएन ।
नेकपा नाम विवाद मुद्दामा फागुन २० गते फैसला हुने
- स
- स
- स