काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि बिहीबार दिउँसो औपचारिक सम्झौता हुने भएको छ। यी दुई बैंक बीच भोलि एलफ्ट होटलमा मर्जर सहमति हुने भएको हो । सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष हुने छन् भने बाँकी पदाधिकारीहरु अनलाइनबाट सहभागी हुने छन्।
मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ।
दुवै बैंकबीच अहिलेसम्म भएको सहमति अनुसार, मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा–आधा ब्यहोरिने बताइएको छ । हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने बताइएको छ । त्यस्तै इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ।
अहिले हिमालयनमा हजार जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १५ सय जना हाराहारी कर्मचारी छन्। इन्भेष्टमेन्टले करारमा पनि कर्मचारी राखेको छ। उनीहरुका बारेमा इन्भेष्टमेन्टले निर्णय गर्नुपर्ने हुन्छ।
मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने बताइएको छ । ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ।
अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्।