Friday, May 3Nepal News Portal
Shadow

निर्यात व्यापारको आकार ७ अर्ब अमेरिकी डलर पुर्‍याइने


काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल(फिन) ले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार ७ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । महासंघले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा १ अर्ब अमेरिकी डलरबाट २ अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म ७ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको हो ।

नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासंघले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० ओटा देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन्तरक्रियामा समृद्ध मुलुक निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको हो ।

कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि बिहीवार पत्रकार सम्मेलन गर्दै महासंघले कुन देशमा कुन वस्तुको आवश्यकता छ भन्नेबारे कूटनीतिक नियोगले छलफल गरेर एक महीनाभित्र महासंघलाई राय सुझाव दिने बताएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले नेपालको व्यापार घाटालाई कम गरी निर्यातमा जोड दिन महासंघले कूटनीतिक नियोगसँग छलफल अगाडि बढाएको बताए ।

हाल नेपालबाट १२० भन्दा बढी मुलुकमा ९५० भन्दा बढी उत्पादित सामग्री निर्यात हुँदै आएको छ । समृद्ध मुलुक निर्माणका लागि औद्योगिक क्षेत्रको निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो । निर्यात प्रवर्द्धनका लागि कतिपय मुलुकका नेपाली दूतावासमा बजेट नभएको अवस्थामा निर्यातकर्ताको पहलमा परराष्ट्र मन्त्रालयमार्फत बजेट छुट्याउन लगाएर निर्यात प्रवर्द्धनलाई जोड दिइएको उनले बताए।

नेपालबाट विशेषगरी विदेशमा कार्पेट, तयारी पोसाक, पश्मिना, फेल्टलगायत सामग्री विक्री वितरण हुँदै आएका छन् । महासंघका महासचिव अमृत खड्काले कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि कुन देशमा कुन वस्तुको आवश्यता छ भन्नेबारे जानकारी पाइने हुँदा सम्बन्धित देशलाई आवश्यक सामग्री निर्यातमा महासंघले सहजकर्ताको भूमिका खेल्नसक्ने बताए ।

नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ । त्यसपछि दोस्रो निर्यात हुने मुलुक अमेरिका हो । निर्यात गर्ने १२ ओटा वस्तुगत संघ र निर्यातकर्ताको सहकार्यमा विसं २०७६ माघमा स्थापना भएको महासंघमा हाल २२ ओटा वस्तुगत संघ आबद्ध भइसकेका छन् । रासस

Total Page Visits: 561 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्