Wednesday, May 15Nepal News Portal
Shadow

नवनिर्वाचित सिएनआई पदाधिकारी–एमाले अध्यक्षबीच अर्थतन्त्रको विषयमा छलफल


काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरूले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गरेका हुन् ।

उक्त छलफलमा अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा आर्थिक मुद्धा बन्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक बृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने बताए ।

जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा अध्यक्ष अग्रवालले जोड दिए ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताए । प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको भन्दै उनले अर्थतन्त्रका विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको बताए ।
उक्त भेटमा निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी भएका थिए ।

Total Page Visits: 114 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्