Saturday, May 18Nepal News Portal
Shadow

सेयर बजार प्रवेश गर्ने नयाँ लागनीकर्ताका लागि, सेयर भनेको के हो, सेयर कति किसिमका हुन्छन् ? पढ्नुहोस्


साधारण सेयर
धितोपत्रहरु मध्ये सबैभन्दा बढी प्रचलनमा रहेको बुझ्न सजिलो वित्तीय औजार साधारण सेयर हो । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ ।

साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ, दायित्व पनि लगानीको परिमाणमै सीमित हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ ।
साधारण सेयरधनीलाई सामान्यतया कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनीको सञ्चालक हुन पाउने लगायतका अधिकार प्राप्त हुन्छ ।

अग्राधिकार सेयर
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार भनिएको हो । अग्राधिकार सेयरधनीहरुले आफ्ना हकहितसंग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउंदैनन् ।

कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकी लाभांश वितरण गर्न नसक्दा आगामी वर्षहरुमा लाभांश वितरण गर्ने गरी जारी गरेको सेयरलाई सञ्चयशील अग्राधिकार सेयर भनिन्छ । नोक्सान भएको वर्षबाट नाफा भएको वर्षमा सार्ने गरी लाभांश जम्मा हुने व्यवस्था नगरिएको सेयरलाई असञ्चयशील अग्राधिकार सेयर भनिन्छ ।

निश्चित समयपछि फिर्ता भुक्तानी गर्ने गरी जारी गरिएको सेयरलाई विमोच्य अग्राधिकार सेयर भनिन्छ । कम्पनी रहुन्जेल अग्राधिकार रहने गरी जारी गरिएकोलाई अविमोच्य अग्राधिकार सेयर भनिन्छ ।
तोकिएको समयपछि साधारण सेयरमा परिवर्तन गर्न सकिनेलाई परिवर्तनीय अग्राधिकार सेयर भनिन्छ भने परिवर्तन गर्न नसकिनेलाई अपरिवर्तनीय अग्राधिकार सेयर भनिन्छ।

ब्लु चिप सेयर
लामो समयदेखि नाफा कमाउंदै आएको तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ता प्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् ।

यी कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन नै पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेक हुन्छ । नेप्सेबाट

Total Page Visits: 2368 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्