Sunday, May 12Nepal News Portal
Shadow

युनियन लाईफ इन्स्योरेन्सको आइपिओ असार २४ गतेदेखि विक्रीमा आउने


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ विक्री गर्न लागेको हो ।

कम्पनीले आइपिओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो भने असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ता भएको ७० प्रतिशत सेयर पुँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब चुक्तापूँजी कायम गर्न आइपिओ विक्री गर्न लागेको हो ।

आइपिओ पश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सङ्केत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यो आइपिओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Total Page Visits: 1012 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्