Sunday, May 5Nepal News Portal
Shadow

गर्मी छल्नको लागि हेटौंडा नजिकै उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’


काठमाडौं । केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरुलाई एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो ।

गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकैछ, पानीबाट निस्केपछि उस्तै , हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुगिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

यस पदयात्राकोे शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटमा रहेको थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको शालिक भएको स्थानबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ भनिएको हो ।

पदयात्रा ऐतिहाँसिक गोपाली गाउँ, डाँडागाउँको गोरखनाथ धाम, बिष्वको तीन शंखमुल मध्येको एक शंखमुल, थाहा २ मा रहेको पाण्डुकेश्वर मन्दिर, फाँटबजारको पाथीभरा मन्दिर, डाँडामुखको पालुङगढी, भकारीढुँगा र यो पदमार्गको सबैभन्दा अग्लो स्थान केशरी भञ्ज्याङ, मान्द्रो गुफा हुँदै उनिउ चौरमा पुगिन्छ । ठुलो हरियो फाँट झै देखिने यो चौर, कहिले हुस्सुले ढाक्ने कहिले खुल्ला हुने मौसम, मौसम खुल्ला हुँदा चौरबाट दन्तलहर जस्तै मिलेका बिभिन्न हिमश्रृङ्खलाहरु छर्लङ्गै देखिन्छ ।

यो यात्रामा ऐतिहाँसिक क्षेत्रहरुको अध्ययन अवलोकन, धार्मिक क्षेत्रहरुको दर्शन, परम्परागत बस्तीहरुको अवलोकन, होम स्टेको टिपिकल खाना, स्थानीयहरुको न्यानो आतिथ्यसत्कार, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीयहरुको सांस्कृतिक जीवनको अध्ययन, करिव २४५० मिटर उचाईसम्मको सहासिक यात्रा गरी करिब १६ किलो मिटरको यात्रा हुने भएकोले अन्य पदयात्रामा भन्दा यहाँ फरक अनुभब र आनन्द प्राप्त हुन्छ । र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

करिब ४ घण्टामा पुराहुने यो पैदल यात्रामा मृग, स्याल, कालिज, काँडेभ्याकुर लगायत जनावर र चराचुरुङ्गीहरुलाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो ।

थाहा नगर बिशेषतः कृषि, पर्यटन र धार्मिक दृष्टिले अत्यन्तै सम्भावना भएको स्थान हो । जताततै गर्मीले सताएको बेलामा पनि थाहा नगरमा ज्याकेट नै लगाउन पर्ने हुन्छ । राती सुत्नेबेला सिरक ओड्नै पर्छ ।

थाहा नगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । बेमौसमी तरकारी खेतीका लागि ख्याति कमाएको थाहा नगरमा पौषदेखि फागुनसम्म तरकारी खेती हुँदैन तर बाँकी रहेको ८ महिना फाँटैभरी हरियाली देखिन्छ । बिभिन्न किसिमका तरकारी उत्पादन गरिन्छ । यी तरकारी उत्पादन गर्ने कृषकहरुसंगको साक्षातकार पनि यो पदयात्राको अर्को महत्वपूर्ण पक्ष हो ।

‘पालुङ–आग्रा पदमार्ग’ मा तामाङ संस्कृति पनि छन्। यो पदयात्राको अधिकांश समय जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि रमाईलो र आनन्दको महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्पराको अवलोकन गर्दै घुमफिर गर्दा निकै रमाइलो हुन्छ ।

उनिउ चौरबाट नजिकै डाँडाबास बजार छ । सो बजारबाट शिखरकोट आउन सवारी साधन प्रयोग गर्न सकिन्छ ।

 

Total Page Visits: 353 - Today Page Visits: 8
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्