काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार काठमाडौंका कही स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नाराका साथ ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाएको हो ।
उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० नं. वडा नगर समिति र मरू सिँह सतः मरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा वडा नं. २० नगर समितिको बिशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रहेको थियो । अध्यक्ष कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका अध्यक्ष श्याम मुनिकारको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५६ जनाले रक्तदान गरेका थिए । स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले प्रशंसा पत्र वितरण गरेका थिए ।
त्यसैगरी यूवा स्पोर्टस् क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्यको सभापतित्वमा मरू सतःमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,का.म.न.पा. २३ का अध्यक्ष मचाराजा महर्जन, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ५५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।