काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र लिङदेनसित नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले भेटवार्ता गरेकी छन् । बिहीबार (आज) मन्त्रालयमा पुगेर उनले मन्त्री लिङदेनसित भेटवार्ता गरेकी हुन् ।
भेटमा उपप्रधानमन्त्री लिङदेनले नविकरणी ऊर्जा क्षेत्रमा युरोपियन युनियनले पुर्याउँँदै आएको सहयोगको प्रशंसा गरेका छन् । उनले सहयोगको निरन्तरताका लागि आग्रह समेत गरेको मन्त्री लिङदेनको सचिवालयले जानकारी दिएको छ ।
सो क्रममा मन्त्री लिङदेनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको विषयमा समेत छलफल भइरहेको बताएका थिए ।
उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँग भविष्यमा ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताएका छन्। उनले अन्तरप्रदेशीय प्रसारण ट्रान्समिसन र अरू छिमेकी मुलुकसँगको व्यापारका लागि समानान्तर रूपले ट्रान्समिसन लाइन विस्तार गरिने पनि बताएका हुन् ।