Sunday, May 19Nepal News Portal
Shadow

मनाङमा सबैभन्दा बढी बजेट नासो गाउँपालिकालाई


काठमाडौं । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाका लागि १७ करोड २७ लाख विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार समानीकरण अनुदानतर्फ छ करोड ९९ लाख र सःशर्त अनुदानतर्फ १० करोड २८ लाख विनियोजन भएको छ ।

जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई १५ करोड ८८ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकालाई समानीकरण अनुदानतर्फ छ करोड ९८ लाख, सःशर्त अनुदानतर्फ छ करोड ८२ लाख र विशेष अनुदानतर्फ दुई करोड आठ लाख बजेट विनियोजन भएको पालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

त्यस्तै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकालाई समानीकरणतर्फ छ करोड ९८ लाख र सः शर्ततर्फ आठ करोड ७० लाख गरी कूल १५ करोड ६८ लाख विनियोजन भएको छ । जिल्लाको सडक सञ्जालसँग समेत नजोडिएको विकट क्षेत्र नार्पाभूमि गाउँपालिकालाई १२ करोड ५१ लाख विनियोजन भएको छ ।

गाउँपालिकाले समानीकरणतर्फ छ करोड ८४ लाख, सःशर्त अनुदानतर्फ तीन करोड ८८ लाख, विशेष अनुदानतर्फ एक करोड ३३ लाख र समपूरकतर्फ ४६ लाख बजेट पाएको छ ।

जिल्लाका चार स्थानीय तहमध्ये चामे र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान प्राप्त गरेका छन् । जिल्लाका अन्य पालिकामध्ये मनाङ ङिस्याङमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । रासस

Total Page Visits: 528 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्