Monday, May 20Nepal News Portal
Shadow

अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट, थप १६ लाख डोज खोप अनुदानमा दिने


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छिन् । शुक्रबार मन्त्रालयमा अर्थमन्त्री शर्मासँग भएको भेटमा चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त हुने राजदूत होउले जानकारी दिइन् ।

कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटको क्रममा चिनिया राजदुत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन् । चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् ।

Total Page Visits: 537 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्