Saturday, April 27Nepal News Portal
Shadow

आज सुपर मादी हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन


काठमाडौं ।माघ ९ गतेदेखि सुपर मादी हाइड्रोपावर लिमिटेडलेविक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छोटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार बुधवार (हिजो) सम्म कम्पनीको आईपीओ खरीदका लागि करिब ७ गुणा आवेदन परेको हो ।
बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरीद माग भएको सिडिएससीले जानकारी दिएको छ।

कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ । सर्वसाधारणका लागि छुट्याएको कूल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यीबाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको छ।

सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । २०७५ जेठ ८ गतेदेखि निरन्तर रूपमा यस आयोजनको निर्माण भइरहेको छ । २०७८ जेठ २८ गतेदेखि यो आयोजनाबाट व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिइएको भएपनि विश्वव्यापी रूपमा फैलिएको कोभिड तथा बाढीपहिरोका कारण हालसम्म यस आयोजनाको ८९ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

आयोजनको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार ७२७ रुपैयाँ हुने अनुमान गरिएको छ । कूल लागत भने ८ अर्ब ३५ करोड रुपैयाँ पुग्ने कम्पनीको अनुमान छ ।

Total Page Visits: 167 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्