काठमाडौं, ३ असोज (सस) । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम ४ असोजदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति उल्लेख छ ।
यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको विज्ञप्तिमा उल्लेख छ।