पोखरा, (ससं) । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय गरेको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन लागेको हो । गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका तर्फका दुई मन्त्रीले राजीनामा दिने निर्णय भएको छ ।
माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिएका हुन् । उनले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय बैठकमा भएको बताए । माओवादी केन्द्रबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् ।