Monday, May 13Nepal News Portal
Shadow

व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण


काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए । उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको जानकारी दिए। ४ जनालाई चापाकटर, १ जनालाई ठेलागाडा, २ जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले जानकारी दिए । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिए ।

Total Page Visits: 139 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्