Friday, May 17Nepal News Portal
Shadow

घट्यो २० प्रतिशत विद्युत उत्पादन


काठमाडौं। हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको छ।

त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुने (पिक आवर)मा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको हो।

यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन। जसका कारण खोलामा पानी बहाव घटेर गत वर्षभन्दा विद्युत उत्पादन घटेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। घिसिङले भने विद्युत उत्पादन घटेका कारण अहिले व्यवस्थापनमा समस्या भएको छ।

उनका अनुसार गत वर्षको हिउँदमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट)बाट ११० मेगावाटसम्म दैनिक उत्पादन हुने गरेको थियो। यो बर्ष ७५ मेगावाट मात्रै उत्पादन भइरहेको छ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। हिउँदमा पानीको सतह घट्ने हुँदा ३० देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। नेपालको जडित क्षमता २२ सय मेगावाट पुगेको छ। प्राधिकरणका अनुसार बिहिबार साँझको पिक डिमाण्ड १६३४ मेगावाट छ।

नेपालमा दैनिक ३ करोड युनिट विद्युत खपत हुन्छ। स्थानीय उत्पादनले नपुगेर १ करोड युनिट विद्युत (ब्ल्याक इनर्जी) भारतबाट आयात भइरहेको छ। यो करिब कुल मागको करिब ३३ प्रतिशत हो।

प्राधिकरणको तथ्यांक अनुसार २९६३७ कुल इनर्जी डिमाण्ड रहेको छ। निजी क्षेत्र (आइपीपी)ले ८६५६ मेगावाट आवर, प्राधिकरणले ६२७० मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनी ३३२८ मेगावाट आवर गरी कुल उत्पादन १८२५४ मेगावाट आन्तरिक उत्पादन छ।

आन्तरिक मागले नधानेका कारण बिहिबार १०३३८ मेगावाट आवर भारतबाट आयात भइरहेको छ। आयात गर्दा पनि नधानेका कारण १०४५ मेगावाट आवर विद्युत अवरुद्ध छ।

आन्तरिक मागले नधानेर पुस पहिलो साताबाट प्राधिकरणले आयात सुरु गरेको हो। वैशाखसम्म आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ।

प्राधिकरणले पुस ३ गतेसम्म ११ अर्ब १६ करोड रुपैयाँको बिजुली निर्यात गरेको छ। करिब १ अर्ब ३५ करोड युनिट विद्युत निर्यात गरेको छ। निर्यात भन्दा आयात कम हुने प्राधिकरणको प्रक्षेपण छ।

हिउँदमा आयात गरेर व्यवस्थापन गर्नुपर्ने भएपनि बर्खामा बचत हुने अवस्था छ। प्राधिकरणको प्रक्षेपण अनुसार आउँदो बर्खामा जडित क्षमता ३००० मेगावाट पुग्दैछ। आन्तरिक माग अधिकतम १७/१८ सय पुग्नेछ। भारतले करिब ४०० मेगावाट निर्यातको अनुमति दिएको छ।

Total Page Visits: 365 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्