Sunday, May 19Nepal News Portal
Shadow

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : गरिबी निवारणमन्त्री राई


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले ‘सहकारीहरू सक्किए, खत्तम भए’ भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन् ।

आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको संकट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नुपर्छ ।”

मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रूपमा गर्नुपर्ने पहलमा कुनै कमी नहुने विश्वास दिलाए । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक डा. चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायत व्यक्तिले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा यसप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताए ।

मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले संकटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानबिन नभएमा बचतकर्ता मर्कामा पर्ने बताए ।

इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र संकटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताए ।

इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्ष मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताए । रासस

Total Page Visits: 226 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्