Monday, May 20Nepal News Portal
Shadow

तातोपानी नाकाबाट रासायनिक मल भित्रिन  सुरु


काठमाडौं । नेपालको उत्तरी सीमानाको तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले सात हजार १०० टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले ३ हजार ५०० टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको बताए ।

केही समयअघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताउँदै उनले तातोपानी भन्सारको मल राख्ने क्षमता ७ हजार १०० टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए । उनले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताए ।

तातोपानी नाकाबाट पछिल्लो ५ दिनमा दैनिक नौवटासम्म मलका कन्टेनर ल्याएको बताउँदै उनले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताए । सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने उनले बताए ।

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताए । चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताउँदै उनले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व संकलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन भएको बताए । उनले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तिमा ६२ प्रतिशतसम्म राजश्व संकलन हुने अवस्था देखिएको बताए ।

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्