Monday, May 20Nepal News Portal
Shadow

मिडिया एक्सन नयाँ कार्यसमितिको नेतृत्व सञ्चारविज्ञ पन्तलाई, ७ वटै प्रदेश संयोजक पनि तोकियो


काठमाडौं, (ससं) । सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। शनिबार सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सो अवसरमा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमीकमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए ।

यसैगरी प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था भएपनि त्यस बाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु पर्नेमा जोड दिए । उनले मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडिया सम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।
यसैगरी प्रेस काउन्सिल नेपालका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुले पत्रकार आचार संहितामा रहेर काम गर्नुपर्ने भएपनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए ।

आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै यस संस्थाले अन्तरािष्ट्रय स्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए ।
आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । साथै सदस्यहरुमा यमबहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन्।

यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदूरपश्चिममा उमा कान्त जोशी चयन भएका छन्।

यसैगरी संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष कार्की रहेका छन्।

Total Page Visits: 821 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्