Monday, May 20Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य करेक्सन, २ अर्ब ५७ करोडभन्दा बढीको शेयर कारोबार


काठमाडौं, १९ असोज (ससं) । सोमबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । केही दिनयता लगातर बढ्दै आएको शेयर बजारमा आज सामान्य अंक घटेर करेक्सन भएको हो । गत कारोबार दिन १४ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३.६३ अंक घटेर १५८२.१२ विन्दुमा झरेको छ ।

त्यस्तै हिजो ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम पनि घटेको छ । १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर २ अर्ब ५७ करोड ८६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । आज रौराङको प्रतिशेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ भने कामना सेवाको २२० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक घटेको छ । यो फाइनान्सको ७.१९ प्रतिशत शेयर मूल्य घटेको हो ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । पुनर्बीमा कम्पनीको आज शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटेल समूह ०.२४ प्रतिशत, विकास बैंक समूह १.२४ प्रतिशत, हाइड्रोपावर समूह २.१४ प्रतिशत, अन्य समूह ०.१२ प्रतिशत र म्यूचुअल फण्ड ०.८२ प्रतिशत रहेका छन् ।

Total Page Visits: 738 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्