Wednesday, May 15Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न हतारो गरेको सम्मेलन केन्द्रले थेगेन झरी, असारे झरीमा के होला ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को उद्घाटन गत ३१ वैशाखमा गरेका थिए । उक्त सम्मेलन केन्द्र उद्घाटन गर्दै भनेका थिए,’ ‘उद्घाटन भएको भयै छ, धरहरामा पार्किङ र बगैँचा बन्न बाँकी छ, त्यहाँ काम नसकी उद्घाटन भयो भनियो, यहाँ बाहिरफेर कति काम बाँकी होलान्, यहाँ पनि त्यही भन्न सक्छन् ।’ महामारीको चरम रुप लिएका बेला प्रधानमन्त्रीले उद्घाटन गर्दा सम्मेलन केन्द्रको निर्माण सकिएको नै थिएन।उद्घाटन भएको एक महिना नबित्दै सो सम्मेलन केन्द्रको फल्स सलिङबाट पानी चुहिन सुरु गरेको छ।

निर्माण सकिएको घोषणापछि ठेकदारले धमाधम क्याम्प उठाउँदै गर्दा सम्मेलन केन्द्रमा पानी चुहिन थालेको हो । भर्खरै निर्माण सकिएको र उद्घाटन समेत भइसकेको सम्मेलन केन्द्रको छानाहरुको एक्सपान्सन जोाइनबाट झरी पर्दा केन्द्रभित्रै पानी पस्ने गरेको छ ।

शहरी विकास विभागका सिनियर डिभजनल इन्जिनियर मचाकाजी महर्जनका अनुसार पानी नचुहिने गरी छाना ममर्त गर्न ठेकदारलाई भनिएको छ । उनले छानाबाट राम्रोसाग पानी तर्काउने व्यवस्था गर्न भनिएको बताए ।

अहिलेसम्म करिब ५५ प्रतिशत मात्रै भुक्तानी पाएको ठेकदार कम्पनीलाई समस्या देखिएका ठाउँमा मर्मत नगरी अन्तिम भुक्तानी नदिने महर्जनले बताए ।

‘एक वर्षसम्म केही समस्या आए मर्मत गर्ने काम ठेकदारकै हो, समस्या अहिले नै देखिएको राम्रो हो,’ उनले भने,’१२ रोपनीमा बनेको सम्मेलन केन्द्रको भवनमा छानाबाट वर्षे पानी एकैपटक धेरै जम्मा हुन्छ, त्यही जम्मा भएको पानी एक्स्पान्सन जोइनबाट भित्र छिरेको हो ।’प्रधानमन्त्रीले उद्घाटन गर्दा यो सम्मेलन केन्द्रको निर्माणको भौतिक प्रगति ९८ प्रतिशत थियो । विभागका अनुसार २०७६ कात्तिकमा ५ महीनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भएको छ ।

केसी–समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन दुई पटक म्याद थप भएको थियो । ४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । दुई वटा साना हलहरु पनि छन् । भीभीआईपी कक्ष पनि छ । पार्किङ र बगैँचा पनि बनाइँदैछ ।

बनिनसक्दै सम्मेलन केन्द्रको भौतिक अवस्थामाथि संशय भएकाले यसको सञ्चालन दिगो र सहज नहुने अवस्था आएको शहरी विकास मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘काम नसकिँदै उद्घाटन गरेपछि बाँकी रहेका काममा पनि ठेकदार पक्ष जिम्मेवार बनेनन्,’ ती अधिकारी भन्छन्,’उद्घाटन भनेको करार सकिएपछि गर्ने हो, प्रधानमन्त्रीले नै हतार(हतार उद्घाटन गरेपछि जथाभावी तवरले काम गर्न ठेकदारको मनोबल बढिहाल्छ ।’

सबै काम नसकिएकाले ठेकेदारले सभाहल सरकारलाई हस्तान्तरण गरेको छैन । यो सभाहल कसले जिम्मा लिएर चलाउने हो भन्ने पनि तय भएको छैन । स्रोतका अनुसार वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चलाउने विकास समिति, त्यस्तै अर्को समिति, स्थानीय तह वा कसले चलाउने भन्ने विकल्पमा छलफल हुँदैछ । अनलाइन खबर

Total Page Visits: 938 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्