Monday, May 20Nepal News Portal
Shadow

अप्पर स्याङ्गेको आईपीओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

दोस्रो चरणमा बिक्री गरिने सेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । यीबाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणमा आईपीओ बिक्री अवधि असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागअनुसार आवेदन नपरे असार २४ गतेसम्म बिक्री अवधि थप हुने कम्पनिले बताएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयर सफ्टवेयरको प्रयोगमार्फत समेत आवेदन दिन सकिने व्यवस्था पनि छ ।

निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले लमजुङ जिल्लाको तत्कालीन ताघ्रिङ गाउँविकास समितिमा २.४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७८ फागुन १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । यस आयोजनाको कुल लागत ५० करोड ४८ लाख रुपैयाँ छ । त्यस्तै प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

२२ करोड रुपैयाँ अधिकृत पुँजी रहेको यस कम्पनीको जारी पुँजी २२ करोड रुपैयाँ नै रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी २ करोड ५ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ५४ पैसा रहेको कम्पनी १४ रुपैयाँ ६३ पैसा प्रतिसेयर नोक्सानीमा छ ।

चालु आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीले सञ्चित नोक्सानी घटाएर ८५ लाख ७२ हजार रुपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीले ६१ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

Total Page Visits: 162 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्