Monday, May 20Nepal News Portal
Shadow

अराजक तत्त्वले वित्तीय अराजकता निम्त्याउन थाले : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायत विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् ।

लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही मौकामा अराजक तत्त्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।”

प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बताए । “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ । म प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषद्को पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको थियो,” उनले भने, “आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्त समेतका समस्या समाधानमा केन्द्रित छ । सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ ।

बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु । यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईंहरूको सुझावको अपेक्षा गरेको छु । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुनसक्छ ।”

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताएका थिए ।

निजी क्षेत्र र बैंकिङ क्षेत्रका प्रतिनिधिले बैंक तथा लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

बैठकमा सरकारका मुख्यसचिव, अर्थ मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, विभिन्न व्यावसायिक संगठनका प्रतिनिधि, बैंकर एसोसिएसनलगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

Total Page Visits: 267 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्